
काठमाडौं, १ साउन — सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक विधिपूर्वक मनाइँदै छ।
आजको दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। वैदिक सनातन परम्परामा माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष महत्वका साथ मनाइन्छ।
साउने सङ्क्रान्तिका अवसरमा नदी, ताल तथा तीर्थस्थलमा स्नान गरी दान–पुण्य गर्ने परम्परा छ। असारभरि खेतीपातीमा व्यस्त रहने कृषकहरू हिलोमैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न 'लुतो फाल्ने' परम्परासमेत आजकै दिन मनाउने चलन छ।
परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारकको पूजा गरेर अगुल्टो फाल्ने तथा नाङ्लो ठटाउने, शङ्ख फुक्ने र घण्टी बजाउने प्रचलन रहेको छ।
साउन महिना भगवान् शिवको विशेष आराधनाको महिना मानिने भएकाले आजदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। यस अवसरमा महिलाले हरियो चुरा, हरिया कपडा र मेहेन्दी लगाएर पर्व मनाउने परम्परा पनि रहेको छ।



